• Saturday 25th of July 2026

नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ । नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतका समूहले नेविसङ्घ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरी घाइते बनाएको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी नेता सरोज तिमिल्सिना र निरज शाह गम्भीर घाइते भई ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । घटना भएको एक घण्टापछि त्यहाँ खटिएको प्रहरी टोलीले अनेरास्ववियुका विद्यार्थीलाई नै संरक्षण दिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । काँग्रेसले आक्रमणकारीलाई कारवाही गर्न माग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology