• Friday 24th of July 2026

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्नुहुन्छ, “हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्नेछ ।” राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्र्ने कानूनी व्यवस्था रहेको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थमन्त्रीसमेत रहनुभएका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । उहाँ यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएको थियो । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना हुनुहुन्छ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा गरिनेछ । गाउँपालिका अध्यक्ष÷ उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचन हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो निर्वाचन प्रत्येक प्रदेशमै हुने र तत् प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology