• Saturday 25th of July 2026

सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित


  • गोकर्णेश्वर अनलाइन

सुन्तलाका बोट मर्न थालेपछि चितवनका किसान चिन्तित बनेका छन् । सुन्तलाखेतीले परिचित इच्छाकामना गाउँपालिका– ५ तामिन गाउँका किसान सुन्तलाका बोट मर्न थालेपछि चिन्तित बनेका हुन् । विगत केही वर्षयता सुन्तलाका बोट मर्न थालेका तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका कृषक हरिबहादुर नेपालले बताउनुभयो । गत वर्ष मात्र रु सात लाखका सुन्तला बेचेर आम्दानी गर्नुभएका कृषक नेपालले यस वर्ष रु एक लाखको हाराहारीमा मात्र आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तलाका बोट मरेर बगैँचा रित्तो हुँदैछ, भएका बोटमा पनि राम्रो दाना लागेका छैनन्, गत वर्ष रु सात लाखका सुन्तला बिक्री गरे, यस वर्ष रु एक लाख आम्दानी हुने अनुमान गरेको छु, हरेक वर्ष आम्दानी घट्दो छ ।” सुन्तलाका बोट मर्न थालेसँगै हरेक वर्ष आम्दानी घट्न थालेपछि अहिले किसान अन्य विकल्पतर्फ लागेका अर्का युवा कृषक रामप्रसाद बोहोराले बताउनुभयो । बोहोराका अनुसार अहिले सुन्तला मासेर गोलभेडालगायत अन्य तरकारीखेती गर्नतर्फ किसान लगेका छन् । उहाँले भन्नुभयो, “वर्षेनी सुन्तलाका बगैँचा रित्तिदै गएका छन्, भएका बोटमा पनि राम्रो फल लाग्न छाडेको छ, बयस्क बोट पनि मर्न थालेका छन्, अहिले किसान विकल्पमा अन्य तरकारीखेतीतर्फ लागेका छन् ।”

उहाँका अनुसार तामिनमा मात्र ६० घरपरिवारले सुन्तलाखेती गर्दै आएका छन् । राम्रो फल लागेको वर्ष तामिन गाउँमा सुन्तलाबाट मात्र रु दुई करोडसम्म आम्दानी भित्रिने गरेको उहाँले बताउनुभयो । यहाँ एकै किसानले राम्रो फल लागेको वर्ष वार्षिक रु २० लाखसम्म आम्दानी गर्छन् । केही वर्षयता क्रमश : सुन्तलाका बोट मासिँदै गएपछि वर्षेनी आम्दानी घट्ने क्रममा छ । दुई वर्षअघि कृषि विज्ञ प्राविधिकलाई सुन्तला बगैँचामा नै ल्याएर अध्ययन गराएका थिए । कृषि विज्ञले ती बगैँचामा सबै सुन्तलाको बोट नष्ट गरी कम्तीमा दुई वर्ष खाली राख्न सुझाव दिएको कृषक नेपालले बताउनुभयो । तामिन गाउँ जिल्लाकै स्वादिलो सुन्तला उत्पादन हुने गाउँ भनेर परिचित छन् । सुन्तलामा रोगको सङ्क्रमण बढ्दै गएपछि यहाँका सुन्तला बगैँचा रित्तिदै गएका छन् । विकल्पमा अहिले यहाँका किसान अन्य तरकरीखेतीतर्फ लागेका छन् । यहाँ किसानले विसं २०५२ देखि नै व्यवसायी सुन्तलाखेती गर्दै आएका हुन् । वडा नं ५ कै साठीमुरे गाउँमा पनि यस वर्ष सुन्तलामा फल लागेन । अलीअली लागेका फल पनि असिनाले नष्ट गरेको यानबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology