• Saturday 25th of July 2026

बैतडीमा ६ हजार खेतीयोग्य जमीन बाँझै


  • गोकर्णेश्वर अनलाइन

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन् । बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिनुभयो । गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्याउन नपाएको उहाँले गुनासो गर्नुभयो । बाँदरले सबै बाली सखाप पार्दा खेतमा लगाएको अन्न भित्र्याउन नपाएको स्थानीय लक्ष्मी भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पाँच वर्षयता खेतमा लगाएको अन्न कति पनि भित्र्याउन सकिएको छैन ।” बाँदरले खेतमा लगाएको अन्नबाली, फलफूल र तरकारी नष्ट गरेपछि स्थानीय बासिन्दा हैरान बनेका छन् । खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि अधिकांशले खेत बाँझै छोडेको स्थानीय प्रेम कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा स्थानीयवासीहरु खेत बाँझै छाड्न बाध्य भएका हौँ ।” यसैबीच नगरका विभिन्न क्षेत्रमा रहेको बाँदर आतङ्क रोक्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले तयार पारेको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा बाँदर आतङ्कले किसानहरु हैरान भएको तथ्याङ्क रहेकाले बजेट विनियोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाले बजेट विनियोजन गरे पनि बाँदर नियन्त्रण गर्ने उपाय भने खोज्न सकिएको छैन ।” बाँदर धपाउनका लागि आवश्यक उपायको खोजी भइरहेको समेत नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरवासीहरुले बाँदर नियन्त्रणको माग राखेकाले बजेट विनियोजन गरिएको हो ।” बैतडीमा पछिल्लो समय खेतीयोग्य जमीन बाँझै रहन थालेको छ । जङ्गली जनावरको आतङ्क र बसाइँसराइका कारणले छ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै रहेको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ । बैतडीमा ३१ हजार ४५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको भए पनि हाल २५ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानहरुले जङ्गली जनावर बाँदर र बँदेलको आतङ्कले बढीजसो खेतीयोग्य जमीन बाँझै छोड्ने गरेको बताउनुभयो । आव २०७४÷०७५ मा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको भए पनि हाल घटेर १७ हजार ५०० हेकटरमा मात्रै गहुँखेती गरिन्छ । यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । आव २०७४÷०७५ मा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको भए पनि हाल घटेर १२ हजार २०० हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । धानखेती भने नौ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आएको छ । बैतडीको पाटन, हाट, सलेना, गाकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँखेतीका पकेट क्षेत्र हुन् भने जिल्लाका सबैजसो स्थानमा मकैखेती गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology