• Saturday 25th of July 2026

हिमपातले किसान उत्साहित


  • गोकर्णेश्वर अनलाइन

मङ्सिरमा परेको हिउँले किसान उत्साहित भएका छन् । समयमै परेको हिउँले खेतबारीमा लगाइएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन् । सुख्खाग्रस्त क्षेत्रमा बाली फष्टाउने र उत्पादन बढ्ने सम्भावना देखिएको पात्लेका किसान डेण्डी शेर्पाले बताउनुभयो । विगतका वर्षमा पुस अन्तिममा मात्रै हिउँ पर्ने क्षेत्रमा पनि यस वर्ष मङ्सिरमै हिउँ परेको उहाँको भनाइ छ । “पोहोरतिर पुस माघमा मात्रै हिउँ पथ्र्यो, यस वर्ष बेलैमा हिउँ परेको छ, हामी किसानका लागि यो राम्रो हो”, शेर्पाले भन्नुभयो, “एक्कासि चिसो बढ्दा जनजीवनचाँही अलिक कष्टकर नै छ, कतिपयले न्यानोको जोहो गर्न भ्याएका थिएनन् तर जाडो भए पनि गहुँ सप्रिन्छ, तरकारी राम्रो फल्छ ।” सोलुखुम्बुका सबैजसो उच्च भूभागसहित जिल्लाका खिजीदेम्बा, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका क्षेत्रका उच्च भागमा हिउँ परेको छ । त्यस क्षेत्रमा हिउँसँगैको आकाशे पानीका कारण मानिस र पशुचौपाया चिसोको मारमा छन् ।

माथिल्लो सगरमाथाका जिल्लामा शुक्रबारदेखि भारी हिमपात भएको छ । ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ परिरहेको छ । जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । हिउँमा रमाउने बढे चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । हिउँमा रमाउनका लागि जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका व्यक्तिको घुइँचो लागेको जन्तरखानीका घरवास सञ्चालक हरिकुमार मगरले बताउनुभयो । “हिउँ परिरहेको छ, चिसोले बालबालिका र वृद्धवृद्धामा समस्या भए पनि हिउँ खेल्न आउने युवाको बिहानैदेखि घुइँचो लागेको छ”, उहाँले भन्नुभयो “हिउँ परेको थाहा पाउने बित्तिकै हुलका हुल मान्छे आउँछन्, चिसो हिउँमा रमाएर जान्छन् ।” ओखलढुङ्गाको ठाडे जन्तरधापदेखि सोलुखुम्बुको पत्ताले क्षेत्रमा हिउँले आन्तरिक पर्यटक बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology