• Saturday 25th of July 2026

सुन्तला बोटबाटै बिक्री


  • गोकर्णेश्वर अनलाइन

–हरि बाँस्तोला बुबाको पालामा लगाइएका सुन्तलाको बोटबाट फल दिन थालेकोे ३६ वर्ष पुगेको छ । बुबाकै पालामा लगाइएका सुन्तलाका ५० बोटले अहिले पनि निरन्तर फल दिँदै आएका छन् । आफू जन्मनुभन्दा पहिलेदेखि नै पुख्र्यौली खेतीका रुपमा थालिएको सुन्तला स्याहार्न र वन्यजन्तुबाट जोगाउन यतिखेर पोखरा महानगरपालिका– २१ का प्रकाश पौडेललाई भ्याइनभ्याइ छ । “अहिले बगैँचामा रहेका चार सय बोटमा सुन्तला लटरम्म फलेको छ,” उहाँले भन्नुभयो, “सुन्तलाको हेरचाहमा रहनु मेरा लागि दैनिकीजस्तै बनेको छ, यसवर्ष बोटबाटै एघार लाखको सुन्तला बिक्री गरियो ।” बारीभरि लटरम्म फलेको सुन्तला उहाँको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर उहाँले सुन्तला खेती गर्दै आउनुभएको छ । “धान, कोदो, मकैजस्ता खाद्यान्न बाली लगाउँदा छ महिनासम्म पनि खान नपुग्ने भिरालो पाखोमा शुरुमा लगाएका १०० बोटमध्ये लगभग ५० मरेपनि सोही स्थानमा नयाँ बिरुवा थप्दै जानुले ंउत्पादन बढेको छ”, उहाँले भन्नुभयो ।

सुन्तला बोटको एक भाग पहेँलो हुने, टुप्पाबाट सुक्ने र फल पनि अमिलो हुने सङ्केत देखिने वित्तिकै त्यसलाई हटाउने र माटोको उपचार गरेर पुनः बिरुवा लगानुका साथै थप जग्गामा ३०० भन्दा बढी बिरुवा थपेको बताउँदै पौडेलले यतिखेर सबै बिरुवा फल दिन थालेको छ भन्नुभयो । सुन्तलाकै बिक्रीबाट पाँच जनाको परिवारको पालनपोषण गर्दै आउनुभएका पौडेल यसैको आम्दानीले छोराछोरीको पठनपाठनसमेत गराउँदै आएको छ । सुन्तलाको बिक्रीबाट अघिल्लो वर्ष सात लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको उहाँले यो वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिनुभएको छ । एउटै बोटमा सामान्यत दुई सयदेखि २५० किलोग्रामसम्म सुन्तला फल्ने गरेको पौडेलले जानकारी दिनुभयो । “उत्पादित सुन्तला बिक्री हुँदैन की भन्ने चिन्ता छैन”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष बोटबाटै बिक्री हुने गरेको छ ।” सरकारीस्तरबाट खासै कुनै पनि सहयोग प्राप्त गर्न नसकेको बताउँदै “रोगकीरा नियन्त्रण गर्नका लागि आवश्यक यन्त्र र अर्गानीक मलसँगै प्राविधिक सहयोग पाउने हो भने सुन्तलाखेती विस्तार गर्न प्रेरणा मिल्ने थियो”, उहाँले भन्नुभयो ।

रोजगारीको सिलसिलामा साढे दुई वर्ष साउदीमा बिताएको दुःखको अनुभव सुनाउँदै पौडेलले भन्नुभयो, “विदेशमा भन्दा घरपरिवारसँगै बसेर व्यावसायिक रुपमा सुन्तला खेतीतर्पm लाग्दा आफूलाई अत्यन्तै सुखको अनुभूति भएको छ ।” उहाँ मात्रै होइन, यतिबेला यहाँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । यहाँको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानथाप हुने गरेको छ । “सुन्तला खरिद गर्न दैनिक व्यापारी आउन थालेका छन्”, उहाँले भन्नुभयो, “उचित मूल्य दिनेहलाई किसानले बगैँचामा नै ठेक्कामा दिन थालेका छन् ।” बगैँचामै ठेक्का लिँदा प्रतिकिलो ४० रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा सुन्तला बिक्री भइरहेको छ ।

बजारमा प्रतिकिलो १०० रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । डोके व्यापारीले समेत बगैँचाबाट प्रतिकिलो ५० रुपैयाँमा उठाएको सुन्तला बजारमा १०० रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् । व्यापारी बगैँचामै आउन थालेपछि किसान उत्साहित बनेका छन् । “बगैँचाबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, पौडेलले भन्नुभयो । कास्की, स्याङ्जाका विभिन्न स्थानमा सुन्तलामा लागेको सिक्टस ग्रिनिङले बगैंचा सखाप बने पनि पोखरा महानगरपालिका–२१ फेदीपाटन खर्काडाँडामा भने कृषकको सचेतनाका कारण अहिले पनि बगैँचामा लटरम्म सुन्ताला देख्न पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology