• Saturday 25th of July 2026

नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा राष्ट्रपतिको जोड


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वाेपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीति सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उहाँले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । “हाम्रो परराष्ट्र नीतिको मूल मर्म भनेको सबैसँग मित्रता हो, हामी विश्वलाई नै मित्रताको सम्बन्धमा गाँस्नुपर्ने लक्ष्य लिएर हिँडिरहेका छौँ”, उहाँले भन्नुभयो । कूटनीतिक माध्यमद्वारा देशको गरिमा र प्रतिष्ठा सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका वरिष्ठ पूर्वराजदूतको योगदानको राज्यले सधैँ स्मरण गरिरहने बताउँदै उहाँले विभिन्न चुनौतीका बीच मुलुकको शिर उँचो राख्न पूर्वराजदूतले प्राप्त गरेको सफलता नेपालको इतिहासको उज्ज्वल पक्ष हो भन्नुभयो । राष्ट्रपति भण्डारीले समारोहमा ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्रा डा मोहन लोहनीलाई सङ्घका तर्फबाट सम्मान गर्नुभयो ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राजनीतिक सङ्क्रमणका समयमा मुलुकको छविलाई माथि बढाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्वराजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा सन्तोष व्यक्त गर्नुभयो । नेपालजस्तो मुलुकका लागि आफ्नो अस्तित्व, विकास र हितको प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भनेकै सफल कूटनीति भएको बताउँदै उहाँले नेपालको सामथ्र्य भनेकै आफ्ना मित्रसँग सन्तुलित सम्बन्ध विकास गरेर हित प्रवद्र्धन गर्नु हो भन्नुभयो । पराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “हाम्रो जस्तो देशका लागि कूटनीतिक विकास महत्वपूर्ण साधनका रुपमा रहेको छ, त्यसमा राजदूतको भूमिका सर्वाेपरी हुन्छ । मुलुकको परराष्ट्रनीति मात्रै सही भएर हँुदैन, त्यसलाई सञ्चालन गर्ने राजदूत र मन्त्रालयको संयन्त्र कस्तो छ, भन्ने कुराले तय गर्छ ।” सम्मानित पूर्वराजदूत श्रेष्ठले परराष्ट्र सेवाबाट नियुक्त व्यक्ति मात्र कूटनीतिज्ञ हुन् भन्ने खालको मन्त्रालयको बुझाइलाई सच्याउन सुझाव दिँदै खटाइएका राजदूतको योगदानको मूल्याङ्कन गर्ने संयन्त्रको आवश्यकतामा जोड दिनुभयो ।

नेपाल पूर्वराजदूत सङ्घका अध्यक्ष डा शम्भुराम सिङ्खडाले नेपालजस्ता साना मुलुकले कूटनीतिक चलाखीबाट आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो । पूर्वराजदूत उपाध्याय संयुक्त राज्य अमेरिका, श्रेष्ठ बेलायत, कोइराला दक्षिण कोरिया र प्रा डा लोहनी बङ्गलादेशमा नेपाली राजदूतका रुपमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology