• Saturday 25th of July 2026

सुन्तलाखेती गर्ने कृषकलाई उब्जनी अनुदान


  • गोकर्णेश्वर अनलाइन

बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान गरेको छ । परम्परागत रुपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो । नगरपालिकाले यसवर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई एकमुष्ठ रु दुई लाख ६२ हजार रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलले बागलुङ नगरपालिका–८ सिगानामा आयोजित सुन्तला महोत्सवको समापनका अवसरमा १२ जना किसानलाई सामूहिक रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो । नगरभित्रका जमीनको वर्गीकरण गरी उपयुक्त बाली लगाउ प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो ।

परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई पहिलो वर्ष उक्त जग्गामा उत्पादन हुने बाली वापतको रकम नगरपालिकाले दिने नीतिअनुसार वितरण गरिएको थियो । नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार किसानले तीन रोपनीभन्दा बढी जग्गामा फलफूल खेती शुरु गरे प्रति रोपनी रु चार हजारको दरले रकम प्रदान गर्नेछ । “ जसले खाद्य बाली लगाएपनि उपयुक्त प्रतिफल प्राप्त गर्न सकेका छैनन् उनीहरुलाई सुन्तला खेतीका लागि आकर्षित गर्न यो अभियान थालेका हौँ । अन्य कृषि उपज उत्पादन गर्न इच्छुक किसानलाई पनि यसरी नै उब्जनी बराबरको रकम प्रदान गर्ने तयारी गरिरहेका छौँ”, नगर प्रमुख पौडेलले भन्नुभयो । पहाडी भूभाग भएका कारण खाद्य बाली लगाउदा दुःख बढी हुने र उत्पादन कम हुने भएकाले परम्परागत बाली त्यागेर फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकारात्मक भएको नपा ११ का किसान ओमबहादुर केसीले बताउनुभयो ।

उहाँले १० रोपनी जग्गामा सुन्तला तथा कागती खेती गरिरहेको भन्दै उक्त जग्गामा वर्षभरी दुःख गर्दा पनि ४० हजार आम्दानी हुन नसक्ने ठाउँमा सुन्तला खेती गरेर लाखौँ आम्दानी गर्न सकिने देखेरै यो खेती गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology