• Saturday 25th of July 2026

बागलुङमा निवारण भएन हात्तीपाइले


  • गोकर्णेश्वर अनलाइन

नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन । सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा प्रकाश शाहले जानकारी दिनुभयो । हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि हात्तीपाइले रोग निवारणका लागि बागलुङ जिल्लामा ११ औँ पटक अभियान सञ्चालन गरिने भएको हो । “विश्व स्वास्थ्य सङ्गठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु एक प्रतिशत कम हुनुपर्ने औँल्याएको छ”, शाहले भन्नुभयो, “बागलुङमा एक प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि बागलुङमा फेरि अभियान सञ्चालन गरिएको हो ।” एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा ११ औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको शाहको भनाइ रहेको छ ।

बागलुङमा गत वर्ष हात्तीपाइलेको औषधि खुवाइए पछि छ महिनामा नमूना सर्वेक्षणका क्रममा नारायणस्थानमा यसको सङ्क्रमण भेटिएपछि पुनः अभियान थाल्नुपरेको हो । बिहीबार बागलुङमा आयोजित जिल्लाका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकसँगको हात्तीपाइलेसम्बन्धी योजना तथा समीक्षा गोष्ठीमा बागलुङमा ११ औँ पटक हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गर्न थालेको जानकारी गराइएको थियो । अहिले ७७ जिल्लामध्ये १३ जिल्लामा औषधि खुवाएको छ महिनापछि परीक्षण गर्दा जीवाणु भेटिएको थियो । ती जिल्लामा पुनः एकसाथ अभियान सञ्चालन गरिने डा शाहले बताउनुभयो । तेह्र जिल्लामध्ये गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा ११ औँ पटक अभियान सञ्चालन गर्नुपर्ने भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । “हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिक सचेत नहुनु र लगातार औषधि नखानु यसको कारण हो”, गुरौले भन्नुभयो, “यसपटक स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइनेछ ।” विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology