• Saturday 25th of July 2026

समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा


  • गोकर्णेश्वर अनलाइन

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको अवस्था छ, उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पुयाउनुपर्छ । समावेशी विकासका लागि सबै वर्ग र समुदायको संलग्नतामा अर्थपूर्ण साझा प्रयास आवश्यक रहेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्रका मुख्य तीन खम्बा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले समावेशी विकासका लागि एकाकार भएर काम गर्न आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।

सरोकारवालाबीच पर्याप्त छलफल नभई अघि बढाइएका विकासका आयोजनाप्रति नागरिकबाट प्रश्न उठ्ने सम्भावना रहने बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “समावेशी विकासका माध्यमबाट मात्रै आर्थिक समृद्धि हासिल गर्नुपर्छ भनेर सरकारले त्यसैअनुरूपको नीति तर्जुमा गरेको छ, त्यसका लागि उपलब्ध स्रोतसाधन साझा प्रयासमा परिचालन हुनुपर्छ ।” नेपालको सहकारीलगायत वित्तीय क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक नै रहेको उल्लेख गर्दै उहाँले नयाँ प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउनेतर्फ महिला उद्यमीले ध्यान पु¥याउनुपर्छ भन्नुभयो । समृद्धि फाउण्डेशनले विकासका अभ्यासकर्ता र वाणिज्य क्षेत्रका लगानीकर्ताको सहकार्यमा विकास र समृद्धिका लागि बाधकका रूपमा देखिएको लैङ्गिक असन्तुलनलाई न्यूनीकरण गर्दै अघि बढने प्रोत्साहन गर्न बहस र छलफल चलाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology