• Saturday 25th of July 2026

एमसिसी पारित गर्नुपर्छ : प्रम


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताउनुभयो । उहाँले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाउनुभयो । “समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले संसद् पनि त्यही रुपमा अघि बढ्ने विश्वास छ, जनतामा सार्वभौमसत्ता आइसकेकाले जनता सबै कुराका अन्तिम निर्णयकर्ता बनेका छन्, संविधान कार्यान्वयनका लागि संयन्त्रलाई अघि बढाउनुपर्छ, बहुदलीय व्यवस्था, बहुविचार, बहुलता र विविधता हामीले रोजेको व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

सबै दलले छानेको व्यवस्था केही मतभिन्नता भए पनि आधारभूत कुरामा एकता गरेर अघि जान सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । विगतमा बाटा फरक भए पनि गन्तव्य एउटै हुँदा एक भएर अघि बढे जस्तै अब पनि त्यही बाटोबाट हिँड्नुपर्ने उहाँको भनाइ थियो । “सङ्घर्षबाट पनि अन्तिममा हामी सहमतिमा पुग्छौँ, सात सालमा आन्दोलन सम्झौतामा पुगियो, सबै एकताबद्ध हुँदा सहमतिका साथ देश अघि बढी सफल भएको इतिहास छ, एकताबद्ध नहुँदा प्रतिगामी तत्व सफल भएकाले अब हामीले बेलैमा ध्यान दिनुपर्छ, एकताबद्ध रुपमा अघि बढ्न अनुभवले शिक्षा दिएको छ”, उहाँले भन्नुभयो । दुनियाँ पूर्वाधार, विज्ञान प्रविधि आदि क्षेत्रमा तीव्र गतिमा अघि बढेको बताउँदै उहाँले त्यसलाई पक्रन नसके समय खेर जाने प्रधानमन्त्री ओलीले औँल्याउनुभयो । “बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको संविधान, त्यसअनुसार कानून निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, आग्रहमा अल्झने गर्नु उपयुक्त हुँदैन, सभामुख चयनमै पनि हामी विलम्ब भयौँ, अब ढिला गरिनु हुँदैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology