• Saturday 25th of July 2026

प्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा


  • गोकर्णेश्वर अनलाइन

नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् भने अन्य विधामा महिला तथा पुरुष दुवै खेलाडीले सहभागिता जनाउनेछन् । त्यसैगरी हाफ म्याराथनमा ४५ वर्षसम्म र ४५ वर्षमाथि उमेर समूहका धावकले सहभागिता जनाउन पाउनेछन् । दश किमी दौडमा सैनिक सहचारी, सैनिक अधिकृत तथा गैरसैनिक धावकले सहभागिता जनाउनेछन् भने वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र विदेशीको सहभागिता रहनेछ । त्यसैगरी पाँच किमी दौडमा सैनिक महाविद्यालय तथा उपत्यकाभित्र कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा सकल दर्जाका छोराछोरीले पनि सहभागिता जनाउन पाउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताअन्तर्गत म्यारथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारका साथै एक थान मोटरसाइकल पाउनेछ । त्यसैगरी दोस्रो हुने खेलाडीले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौँले रु १५ हजार, छैँटौँले रु १० हजार, सातौँले रु सात हजार, आठौँले रु पाँच हजार, नवौँले रु तीन हजार तथा दशौँ हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् । हाफ म्याराथनअन्तर्गत ४५ वर्षसम्मको उमेर समूहमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोेस्रोले रु ३५ हजार तथा तेस्रो हुने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछन् । सोही स्पर्धाअन्तर्गत ४५ वर्ष माथि उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछन् । दश किमीतर्फको दौडमा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । वाकाथनमा भने मेडल, प्रमाणपत्र र ट्र्याकसुट प्रदान गरिनेछ । पाँच किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology