• Saturday 25th of July 2026

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताउनुभएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले आगामी वर्षको कार्ययोजना तयार गर्दा शारीरिक अपाङ्गता भएका व्यक्तिको सहकार्यमा नै तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “यसअघि जे जसरी भौतिक संरचना निर्माण भए पनि आगामी दिनमा निर्माण हुने सबै भौतिक संरचना अपाङ्गमैत्री निर्माण गर्नुपर्छ ।” महासङ्घका अध्यक्ष बालकृष्ण गैरेले शारीरिक अपाङ्गता भएका व्यक्तिको समस्यालाई सहज बनाउनका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताउँदै कूल अपाङ्गता भएका व्यक्तिमध्ये ५० प्रतिशत शारीरिक अपाङ्ग भएका व्यक्ति छन् । ग्रामीण भेगमा उनीहरुको अवस्था अत्यन्तै नाजुक छ । यसका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

महासङ्घका उपाध्यक्ष रामप्रसाद ढुङ्गानाले अझै पनि धेरै भौतिक संरचना अपाङ्गतामैत्री नभएकाले यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले घरवारविहीन तथा समुदायमा स्वावलम्बन जीनवयापन गर्न इच्छुक शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि जनता आवास कार्यक्रमअन्तर्गत उपयुक्त व्यवस्था गर्न सरकासँग माग गरेका छन् । अपाङ्गता भएका व्यक्तिको सञ्चार सेवा निर्देशनको समयानुकूल परिमार्जन गरी सार्वजनिक यातायातका सवारी साधन, सूचना तथा सञ्चार प्रविधिलाई अपाङ्गमैत्री बनाउन तथा यसको कडाइका साथ कार्यान्वयन गर्न र गरउन पनि सरकारको ध्यानाकर्षण आवश्यक रहेको उनीहरुले बताएका छन् । त्यसैगरी उनीहरुले अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, जीवन बीमा, पेन्सन आदि कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology