काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यवहारिक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन्।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गरे।
उनले भने, ‘एउटा माथिल्लो नीति निर्माताको तहमा, अर्को कार्यान्वयनकर्ताको तहमा, अर्को आम नागरिकहरु जसलाई आफ्ना हकका कुराहरुको जानकारी चाहिएको छ त्यसको उन्मुलन हो नि। त्यसैले प्रधानमन्त्रीले शुख र समृद्धि मात्रै भनेर भएन नि, रातभरी सुत्दाखेरी त्यसै त रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ, उसलाई हेरविचारको आवश्यकता हुन्छ। त्यो बेलामा रातभरी सर्पले ठुँग्ने हो कि अर्को कोही अपराधी आएर हातपात गर्ने हो भनेर चिन्तामा बस्नुपर्ने कुरा सुरक्षा भन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो? त्यसैले ठूलोठूलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारिक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ।’
उनले सूचनाको हक भन्ने कुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने हो। तर अधिकार खोज्नेले कर्तव्य बिर्सने परिपाटीले वास्तविक सूचना नआउने गरेको उनले बताए।
कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाले संविधानमा महिला अधिकारहरु सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या रहेको बताइन्। उनले महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखवर भएको आफूलाई लागेको बताइन्। महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने उनको भनाइ थियो।
‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरुले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
