• Saturday 25th of July 2026

बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो । खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो । प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराउनुभएको थियो ।

Image result for बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले जानकारी दिनुभयो । टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताउनुभयोे । घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराउनुभएको थियो । घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि दुई÷चार परिवार गाउँ फर्किएको बताउनुभयो । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताउनुभयो ।

स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राख्नुभयो । भाडामा बस्नेहरु केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उहाँले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताउनुभयो । भूकम्पमा पनि गाउँ छाडेका भाडामा बस्नेहरुले अहिले पनि कोठामा ताल्चा लगाएको बताउँदै उहाँले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीयवासी लामो समय त्रासमा बस्नुपरेको गुनासो स्थानीयवासीको छ । स्थानीयवासी राजाराम भण्डारीले भन्नुभयो, “सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।” उहाँले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध भएको हुनसक्ने बताउनुभयो ।

जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयवासीको भनाइ छ । सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology