• Saturday 25th of July 2026

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ


  • गोकर्णेश्वर अनलाइन

मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले बताउनुभयो । लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताउनुभयो । त्यसैगरी सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गर्दै गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई हाल काठमाडौ बस्ने १८ वर्षीय पुजन लिम्बू र काभ्रे घर भई हाल काठमाडौँ डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ । प्रवक्ता गिरीले पक्राउ परेका लिम्बूको साथबाट ताल्चा फुटाउने एक थान छिनो र नगद रु पाँच हजार ३१५ र तामाङको साथबाट एक थान खुकुरी रु १५ हजार ५०० बरामद गरी अनुसन्धान शुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology