• Saturday 25th of July 2026

सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनद्वारा आज यहाँ आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उहाँले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताउनुभयो । “समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ”, उहाँले भन्नुभयो, “मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छाँँै ।” मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताउँदै “सम्पूर्ण सफलता हासिल गरेका छैनौँ । शुरुआत हो । अहिलेको सरकार चटके सरकार होइन । हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँ भन्नुभयो ।” उहाँले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताउनुभयो । “सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँन । यो पनि काम हो । त्यसैले हामीले भनेका छौँ, हरेक दिन एककदम अगाडि । अब देश पछाडि फर्किन सक्दैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो । गोरखापत्र सरकारी नभई जनता र राज्यको भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गोरखापत्र सरकारी होइन ।

गोरखापत्रले सबैका कुरा समेट्छ । सबैका कुरा यसमा आउँछ, पढ्दै नपढेर सरकारीकरण ग¥यो भन्नु गलत कुरा हो ।” मन्त्री बाँस्कोटाले विगतमा अन्य दलले सञ्चारमाध्यमको दुरुपयोग गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै “विगतका सरकारले जे जस्तो गरे पनि हामीले त्यसो गरेका छैनाँै भन्नुभयो ।” हरेक देशमा मिडिया सरकारको पनि हुने गरेको प्रसङ्ग जोड्दै उहाँले नेपालमा केही भयो भने राज्यको आधिकारिकताको लागि स्वतन्त्रतासहित एउटा राज्यको मिडियाको रुपमा गोरखापत्रलाई विकास गर्न खोजेको उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले गौरवपूर्ण इतिहासलाई वर्तमानका चुनौतीसँग एकाकार गराएर गोरखापत्र मिडियाको बजारमा सरकारको साँख र काखमा हुर्केर होइन, प्रतिष्पर्धा र पहलकदमीको आधारमा श्रेष्ठ बन्नुपर्ने बताउनुभयो । “यो सत्ता पक्षको होइन, जनताको प्रिय पत्रिका बन्छ । त्यसैको सिलसिलामा विराटनगरमा पक्की भवन र छापाखानासहित प्रकाशन शुरु गरिसकेको र कोहलपुरमा पनि भवन बनाउनका लागि बोलपत्र भइसकेको छ”, उहाँले भन्नुभयो, “सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ ।” “एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ”, उहाँले भन्नुभयो, “तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन ।

हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।” मन्त्री बाँस्कोटाले मिडिया क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै अब मिडिया यति सवल हुँदैछ कि वास्तविक रुपमा हामीले नेपाली प्रेसको आर्थिक सवलीकरणको मुद्दालाई उठाएका छौँ, विज्ञापन ऐनमार्फत त्यसलाई हामीले सुदृढीकरण गरेका छौं, अगाडि बढाएका छौँ भन्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “देश बदल्ने बेला यही हो यति बलियो सरकार भएको बेला नबदलेर कहिले बदल्ने । पूर्वाग्रह नराखिकन तथ्यपूर्ण तरिकाले सरकार अगाडि बढ्छ, बेथिति रोक्दै गएपछि समृद्धिका आधारशिला निर्माण हुँदै जान्छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology