• Sunday 26th of July 2026

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ –मुख्यमन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेकपा पोखरा २४ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै काँग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिनुभयो । छिमेकी राष्ट्रसंगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उहाँले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री गुरुङले आगामी २५ वर्षभित्रमा प्रदेशको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रकृतिक सम्पदाको अधिकतम उपयोगको नीति प्रदेश सरकारले लिएको स्पष्ट पार्नुभयो ।

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष पु¥याउन निर्देशन दिनुभयो । पोखरा २४ का नेपाली काँग्रेस र राप्रपाका विभिन्न जिम्मेवारीमा रहेका ४७ जना कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई मुख्यमन्त्री गुरुङ, अध्यक्ष पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसी लगायतले माला र अबीर लगाएर पार्टी प्रवेश गराई स्वागत गर्नुभएको थियो । नेकपा पोखरा २४ का अध्यक्ष मनोहर त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology