• Saturday 25th of July 2026

कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिनुभयो । प्रदेश नं २ मा हालसम्म एक जनामा पनि कोरोनाको सङ्क्रमण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको उपनिर्देशक झाले जानकारी दिनुभयो । यसैगरी कोरोनाको सङ्क्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ । विभिन्न पालिकामा पनि हेल्थ डेक्स सञ्चालनको काम अगाडि बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आइरहेका दुई युवालाई धनुषाको सिमानामा पर्ने भारतको जयनगरमा भारत सरकारले राखेको कोरोना हेल्थ डेक्सले शङ्काका आधारमा मधुबन्नी जिल्लाको सदर अस्पतालमा लगेर जाँच गराउँदा नेगेटिभ रिपोर्ट पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कँडेलले भन्नुभयो, “यद्यपि भारतमा कोरोनाको सङ्क्रमण देखापरेको र खुला सिमाना भएका कारणले सीमाक्षेत्रमा निगरानी बढाउने काम भएको छ ।” त्यसैगरी कोरना भाइरसबाट सतर्कता अपनाउनका लागि नै सरकारी विद्यालयमा शनिबारदेखि नै दुई चरणमा गरेर भए पनि ६ गतेसम्म वार्षिक परीक्षा सक्ने गरी परीक्षा शुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology