दार्चुलामा आजबाट दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । दुई चरणमा हुन लागेको अभियानअन्तर्गत पहिलो चरणमा ब्यास, दुहुँ, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामामा अभियान शुरु भएको छ । जिल्लाभरिका १२ हजार ७१८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइनेछ । नौ महिनामाथिका र पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाइनेछ । दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप निरीक्षक वीरेन्द्र भट्टले जानकारी दिनुभयो । अभियानका लागि १३० स्वाथ्यकर्मी तथा २० स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । पहिलो चरणको अभियान चैत २ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणअन्तर्गत चैत १० देखि १७ गतेसम्म जिल्लाको मालिकार्जुन, लेकम, अपि हिमाल, मार्मा गाउँपालिका र महाकाली नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका ३६० खोप केन्द्रबाट बालबालिकालाई खोप दिइने छ ।
म्याद नाघेका पत्रु खाना
सदरमुकाम खलङ्गामा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड (पत्रु खाना) अधिकांश म्याद नाघेको अवस्थामा भेटिएका छन् । घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको अगुवाइमा भएको बजार अनुगमनमा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड म्याद नाघेको भेटिएका हुन् । बालबालिकाले विद्यालयमा प्रयोग गर्ने कुरकुरे, चिजबल, मोटेपतला जस्ता जङ्कफुड म्याद नाघेको भेटिएको समितिका निमित्त वरिष्ठ उद्योग अधिकृत गङ्गाकुमारी मगरले जानकारी दिनुभयो । महाकाली नगरपालिका–५ स्थित माथिल्लो रोड क्षेत्रको बजारमा गरिएको अनुगमनमा बालबालिकाले प्रयोग गर्ने खाद्यान्न म्याद नाघेका भेटिएका छन् । उहाँले भन्नुभयो, “बालबालिकालाई म्याद नाघेका अखाद्य जङ्कफुड खानबाट बचाउन अभिभावकसमेत सचेत हुनुपर्छ, खुवाउनै परे म्याद भए नभएको हेर्नु जरुरी छ ।” निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कँुवरले बजारमा पाइने जङ्कफुड भारतीय बजारबाट आउने गरेको बताउनुभयो । पारि धार्चुलाबाट आउने जङ्कफुड प्रायः म्याद नाघेका छन् । बजार अनुगमनका क्रममा भारतीय बजारबाट आउने गरेका विभिन्न प्रकारका सामान नष्ट गरिएको छ ।
जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवाल बजारमा म्याद नाघेका भेटिने अखाद्य वस्तुले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने भएकोले यस्ता खाद्य वस्तु प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिनुहुन्छ । उपभोक्ताले बजारमा सामग्री खरिद गर्दा सकेसम्म उत्पादन मिति हेर्नुपर्छ । उहाँले भन्नुभयो, “उपभोक्ता सचेत भए बजारमा व्यापारीले म्याद गुज्रेका वस्तुसमेत बिक्री गर्न पाउँदैनन् ।”
