• Saturday 25th of July 2026

गौरीगञ्ज गाउँपालिकामा दूध निःशुल्क वितरण गरेर पनि सकिएन


  • गोकर्णेश्वर अनलाइन

दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क बाढ्न थालेको हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिनुभयो । उहाँले दैनिक ७५ लिटर दूध उत्पादन गर्नुहुन्छ । पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन शुरु गर्नुभएका कृषक साहको मुख्य आयश्रोत नै दूध हो । तीन वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उहाँले सो व्यवसाय शुरुआत गर्नुभएको थियो । गौरादह नगरपालिका – ८ थापा चोक निवासी नारायणप्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पाल्नु भएको छ । दैनिक ५० लिटर दूध विक्री गर्ने उहाँको पनि समस्या उस्तै छ । साह र गौतम जस्ता किसानले उत्पादन गरेको दूध नबिक्नु अहिलेको साझा समस्या हो । अधिकांश व्यवसायिक पशुपालक किसानले दैनिक ५० लिटर भन्दा बढी दूध निःशुल्क गाउँलेलाई बाढ्दै आएका छन् ।

‘गाउँमा दूध बाढेर पनि सकिदैन’ साहले भन्नुभयो – ‘दुई चार लिटर भए पो बल्लो गाउँ पल्लो गाउँमा दूध दिँदा सकिन्छ, ग्रामीण क्षेत्रका अधिकांशले पशुपालन गरेका छन् प्रायजसो घरैपिच्छे दूध हुन्छ उनीहरुले लाँदैनन् जसले पशु पालेको छैन उनीहरुले मात्र लाँदा हामीले उत्पादन गरेको दूध सकिदैन ।’ साह भन्नुहुन्छ – ‘दूध फाल्नु पनि त भएन नि ।’ गौरीगञ्ज–खजुरगाछी क्षेत्रका किसानहरूले उत्पादन गरेको दूध खजुरगाछीको आठमौजा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको चिश्यान केन्द्रले खरिद गर्दै आएको थियो । आठमौजा सहकारी संस्थाले संकलन गरेको दूध रितिका डेरी उद्योगले खरिद गर्ने गरेपनि अहिले रितिका डेरी उद्योगले दूध लिन छाडेको सहकारीका अध्यक्ष अर्जुन दंगालले बताउनुभयो । सहकारीले दैनिक एक हजार लिटर दूध संकलन गर्ने गरेकोमा एक सय ५० लिटर दूध स्थानीय ठाउँमा बिक्री हुने र बाँकी दूध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको आठमौजा सहकारीका दूध संकलन कर्ता जयप्रसाद ढकाल बताउनुहुन्छ ।

एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीले काम गर्ने कर्मचारी नै आउन छाडेपछि किसानको दूध सङकलन गर्न नसकेको जानकारी दिनुभयो । ‘कर्मचारीले बरु जागिर छाड्छौं भन्छन् तर काममा आउदैनौं भनेपनि किसानको दूध उठाउन नसकिएको हो’उहाँले भन्नुभयो – “अहिले उद्योगको उत्पादन २५ प्रतिशत पनि छैन ।” झापाको मेचीनगरपालिकामा अवस्थित एनएमसी डेरी उद्योगले दैनिक १४ हजार लिटर दूध सङ्कलन गर्दै प्रशोधित दूध र दूधका परिकार झापासहित मोरङ र सुनसरीका विभिन्न बजारमा एकसाता अघिसम्म बिक्री बितरण गर्दै आएको थियो । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै एक सातादेखि लकडाउन गरेसँगै डेरी उद्योगले दूध सङ्कलन गर्न छाडेको छ । नेपाल वहुउद्देश्यीय सहकारी संस्था मार्फत सञ्चालन गरिएको डेरी उद्योगले आफ्ना २९ वटा चिस्यान केन्द्र मार्फत दैनिक चारसय किसानको घर – घरमा पुगेर दूध सङ्कलन गर्दै आएपनि अहिले उद्योगले दूध सङकलन गर्न छाडेपछि किसानले उत्पादन गरेको दूध बिकेको छैन । उद्योग नजिकै रहेका पशुपलक कृषले भने उत्पादित दूध उद्योगमा पु¥याउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology