• Saturday 25th of July 2026

मादीमा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, करार कर्मचारीको १० लाखको बीमा


  • गोकर्णेश्वर अनलाइन

कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको मङ्गलबार बसेको बैठकले ‘लकडाउन’ तथा कोरोना सङ्क्रमण त्रासको विषम परिस्थितिमा समेत २४सै घण्टा जनताको सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रतिदिन रु ५०० का दरले प्रोत्साहन थप भत्ता उपलव्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताउनुभयो । त्यसैगरी गाउँपालिकाले सरकारबाट बीमा नभएका करारका स्वास्थ्यकर्मीलाई समेत रु १० लाखको बीमा गर्ने निर्णय गरेको छ । स्थायी कर्मचारीको सरकारबाट नै बीमा भए पनि करार सेवाका स्वास्थ्यकर्मी वञ्चित हुने भएकाले अहिलेको अवस्थामा जनताको जीउ ज्यानको सुरक्षामा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ । “कोरोनाका कारणबाट विश्वनै प्रभावित भएको अवस्थामा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउन प्रोत्साहन भत्ता र बीमा नभएकालाई बीमा गर्ने निर्णय पालिकाबाट गरेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो । गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु १० लाख थप गर्ने भएको छ ।

कोरोना सङ्क्रमण न्यूनीकरण कार्यक्रम चालू वर्षको बजेट कार्यक्रममा विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रु १५ लाखबाट खर्च गरिएकामा अहिले कोषमा रकम थप गर्न लागिएको बताइन्छ । जारी लकडाउन प्रभावकारी कार्यान्वयनका लागि १२ वटै वडामा एउटा वडाबाट अर्कोमा कोही कसैलाई पनि प्रवेश गर्न नदिइने वडा नं ७ का अध्यक्ष एवं प्रवक्ता लालबहादुर गुरुङले बताउनुभयो । त्यसैगरी राजनीतिक दल, जनप्रतिनिधिलगायतको वडास्तरीय संयन्त्रबाट आपूर्ति सहज गर्ने, बजार अनुगमन तथा अत्यन्त विपन्न परिवारको लगत सङ्कलन गरी राहत प्रदान गर्ने भएको छ । लकडाउनको मौका पारी कालो बजारी गर्ने, वन्यजन्तुको चोरी शिकारी गर्ने, जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कानुनी कारवाहीका लागि सुरक्षाकर्मी तथा जनप्रतिनिधिले विशेष निगरानी गर्ने भएको छ । गाउँपालिकाले हालै विदेशबाट फर्किएका २३ मध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको र बाँकी होम क्वारेन्टाइनमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology