• Saturday 25th of July 2026

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना


  • गोकर्णेश्वर अनलाइन

कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकाहरु कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालीम केन्द्रमा १६ र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो । अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन ।

चौध दिनपछि घर पठाइएकाहरुलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताउनुभयो । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् । पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण नेगेटिभ आएको छ । दुई पोजेटिभ आएको छ । एक सय २२ नतिजा आउन बाँकी छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology