• Saturday 25th of July 2026

हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई पिपिइ अभाव


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड—१९ को सम्भावित जोखिम हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव रहेका गुनासो गरेका छन् । विशेष गरी हिमाली जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सो गुनासो राखेका हुन् । सो सामग्री अभाव विना बिरामीलाई जाँच गर्नुपरेको तिला गाउँपालिका–९ राँसा स्वास्थ्य चौकी जुम्लाका प्रमुख हर्कबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा आइपर्ने विसम् परिस्थितिमा जहिले पनि पहिलो घेरामा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मी नै हुन्छन् । उनीहरु व्यक्तिगत सुरक्षा सामग्रीसहित हुनुपर्छ तर हामी पिपिइ, एन–९५ मास्कका कुरा छोडौँ, सर्जिकल मास्क नहुँदा गाउँमै कपडाको मास्क सिलाएर लाउन बाध्य छौँ । यस्तो स्थितिमा स्वास्थ्यकर्मीले कस्तो मनस्थितिले काम गर्न सक्छन् ?” प्रमुख रावतले भन्नुभयो, “अर्काको सुरक्षा दिने हामी सुरक्षाकर्मी आफैँ असुरक्षित छौँ । हामी कसरी उहाँहरुको सुरक्षा गर्न सक्छौँ ? स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी, छाती दुख्ने समस्याका बिरामी आउने क्रम बढेको छ । उनीहरुलाई जाँच गर्न नै डर लागेर आउँछ ।”

सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताभन्दा पनि स्वास्थ्य सामग्रीले मजबुत बनाउँदा कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न सबैलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।उहाँले प्रश्न गर्नुभयो १० जना कर्मचारी भएको स्वास्थ्य चौकीमा एउटा पिपिइ सेटले कति सेवा दिन सकिन्छ ? स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले महत्वपूर्ण केसको जाँचमा लगाउनेगरी जिल्लाका ३० वटा स्वास्थ्य चौकीमा एक÷एक पिपिइ सेट उपलब्ध गराइएको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्य सामग्री किन्नका लागि प्रत्येक जिल्लामा रु दुई लाख ५० हजारका दरले पठाइएको जानकारी दिनुभयो । “स्वास्थ्य सामग्री अभाव भएकाले सरकारले सामग्री खरिद गरिरहेको छ”, उहाँले भन्नुभयो, “अब हामी जतिसक्दो चाँडो प्रदेशभरिका स्वास्थ्य संस्थामा पठाउँछौं ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology