• Saturday 25th of July 2026

रुकुम (पूर्व) मा पहिलो पटक एम्बुलेन्स


  • गोकर्णेश्वर अनलाइन

रुकुम (पूर्व) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ । हिमाली र दुर्गम रुकुम (पूर्व) मा हालसम्म एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ । विश्वभर कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहने गरी सो एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो । ‘जिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो समयदेखि पहल गरिए पनि ढिला भइरहेको थियो तर कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै जिल्लालाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराइएको हो’, प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले भन्नुभयो । आज साँझसम्म एम्बुलेन्स जिल्लामा आइसक्ने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताउनुभयो ।

कोरोना भाइरस जाँचका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, आपूर्ति व्यवस्थापन केन्द्रले थप स्वास्थ्य सामग्री पनि पठाएको उहाँले बताउनुभयो । ओलीका अनुसार जिल्लामा पठाइएका थप स्वास्थ्य सामग्रीमा २० थान पिपिई, सर्जिकल मास्क, सेनिटाइजरलगायत छन् । यातायातको सुविधा पुगेका ठाउँमा पनि मानिसले एम्बुलेन्स र अन्य सवारी साधनको अभावले अकालमै ज्यान गुमाएका घटना धेरै छन् । अब त्यस्ता समस्याका दिन सकिएको भूमे गाउँपालिका वडा नम्बर ६ की सविना बुढाले बताउनुभयो । जिल्लामा एम्बुलेन्स चलाउनका लागि जिल्ला अस्पतालले चालकको व्यवस्था गर्ने बताइएको छ । अब भने जिल्लामा २४ सै घण्टा बिरामीलाई सेवा दिने गरेर एम्बुलेन्स तयारी अवस्थामा राखिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology