• Saturday 25th of July 2026

कोरोनालाई जित्दा खुशीको सीमा रहेन …


  • गोकर्णेश्वर अनलाइन

–शेरबहादुर सिंह गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गर्नुभयो । सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे । दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेर विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुग्नुभयो । गत चैत्र १३ गते नै विकसहितको टोलीले त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँचपछि यहाँको बेदकोटमा रहेको क्वारेन्टाइनमा पु-याएको थियो । “दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ ।” कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले भन्नुभयो, “भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।”

मजदुरमा लगाउने ठेकेदारले आफूहरुलाई एक महिना लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताउनुभयो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताउनुभयो । “कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन”, १८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उहाँले भन्नुभयो, “उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो ।” उहाँले उपचारमा हुँदा समयमै औषधि र खानपिन मिल्ने गरेको बताउनुभयो । “डाक्टर’सापहरु फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइरहनुहुन्थ्यो”, होम क्वारेन्टाइनमा रहेका विकले भन्नुभयो, “स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइन्थ्यो ।” यसअघि पाँच जना सङ्क्रमित रहेको सुदूरपश्चिममा विकसहित तीन पुरुष फर्किसकेका छन् ।

उहाँले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताउनुभयो । “अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजो त मज्जाले निदाए ।” घर फर्किएका विक भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन् । “भाइबुहारी भारतमै छन्”, उहाँले भन्नुभयो, “घर खाली भएकाले त्यसलाई प्रयोग गरेको हुँ ।” श्रीमान्लाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि थाहा पाएकी सीता विकले सङ्क्रमणयता घरका सबै तनावमा बसेको बताउनुभयो । “मजदुरी गर्न गएका श्रीमान् बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो ।” उहाँले भन्नुभयो, “उपचारपछि निको भएर आएका श्रीमान्लाई आँखा अगाडि देख्दा खुशीको सीमा नै रहेन ।” श्रीमान्को स्वास्थ्यलाभका कामना गर्दै आफूले भगवान् पुकार्दै बसेको उहाँको भनाइ छ । उहाँले श्रीमान्को स्वास्थ्यलाभका लागि भन्दै भगवान्सित भाकलसमेत गरेको बताउनुभयो । त्यसैगरी इन्द्रका १२ वर्षीय छोरा विवेक विकले भने बुबा बिरामीपछि थला परेको घरको जिम्मेवारी सम्हालेका छन् ।

“आमा बुबालाई ठूलो रोग लागेको छ भनेर सधैं रुनुहुन्थ्यो, खाना पनि नखाने”, बुबा घर फर्किएपछि हर्षित मुद्रामा देखिएका उहाँले भन्नुभयो, “मैले बुबाको स्वास्थ्यलाभका निम्ति घरभित्र रहेको भगवान् कोठामा सधैँ पूजा गर्ने, फूलपाती चढाउँथे ।” गाउँको रत्न माविमा कक्षा ५ मा अध्ययनरत बालक विवेकले घरमा रहेका आमा र बहिनीलाई ढाडस दिँदै आएको इन्द्रका फुपू नाता पर्ने चम्फा विकले बताउनुभयो । “मेरो भदाको उपचारमा खटिने चिकित्सक त हाम्रो परिवारका लागि भगवान् नै हुन्”, उहाँले भन्नुभयो, “मरे पनि छुन नपाइने भन्ने समाचार सुनेर सिङ्गो परिवार दुःखमा थियो ।” उहाँले गाउँमा सञ्चो भएर फर्किएपछि निकै सद्भाव मिलेको विकको भनाइ छ । “क्वारेन्टाइन बसेर उपचार गरी फर्किएकामा गाउँले दाजुभाइ पनि खुबी छन्”, उहाँले भन्नुभयो, “घर आउन सीमानाका बन्द भएपछि ट्युब तरेर आउनु बाध्यता थियो ।” त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताउनुभयो । “कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो”, गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भन्नुभयो, “निको भएर आएपछि सबै हर्षित छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology