• Saturday 25th of July 2026

प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

तनहुँको म्याग्दे गाउँपालिकाले प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले सबै वडाका टोलहरुमा आजदेखि ज्वरो क्लिनिक सञ्चालन गरेको हो । सातवटै वडाका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारीसँग आवश्यक समन्वय गरी ज्वरो क्लिनिक सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । ज्वरो क्लिनिक सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई टोल–टोलमा खटाइएको छ । “कोभिड–१९ को लक्षणसँग मिल्ने ज्वरो, रुघाखोकी, शरीर दुख्नेलगायतका बिरामीको पहिचानका लागि ८२ वटै टोलमा ज्वरो क्लिनिक सञ्चालन गरिने र सर्वसाधारणको तथ्याङ्क सङ्कलन गर्नेछौँ”, प्रमुख प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो । यस अगाडि गाउँपालिकाले विदेशबाट फर्किएका नागरिकको विवरण सङ्कलनका लागि टोल विकास समितिलाई परिचालन गरेको थियो । टोल विकासमार्फत कोभिड–१९ का शङ्कास्पद व्यक्तिको तथ्याङ्क लिने, सङ्क्रमणको जोखिम, लक्षण र आवश्यकता पहिचान गर्ने काम गरेको थियो ।

गाउँपालिकामा चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ४३ जना रहेको छ । “गाउँपालिकावासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई टोल–टोलमा पठाएर सबैको ज्वरो नाप्न शुरु गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले भन्नुभयो, “यसले कोभिड–१९ रोकथामका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।” रानाका अनुसार विभिन्न देशबाट गाउँपालिकामा आएका व्यक्तिको विवरण लिई उनीहरूको स्वास्थ अवस्थाको निगरानी भइरहेको छ । ज्वरो क्लिनिकमा स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य परीक्षण गराउनका लागि सम्पूर्ण नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलाई समन्वयका लागि अनुरोध गरिएको छ । यस्तै गाउँपालिकाले पहिलो चरणमा एक हजार ५६० परिवारलाई राहत वितरण गरेको जनाएको छ । स्वास्थ्य सहायता कक्षमा ३ हजार १६३ को परीक्षण कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँ जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षबाट तीन हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । तनहुँ जिल्ला प्रवेश गर्ने मुख्य नाका तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको कक्षबाट तीन हजार १६३ जनाको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहँुका अनुसार उक्त कक्षबाट ७६२ महिला र दुई हजार ४०२ पुरुषको परीक्षण गरिएको छ । कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षमा एक हजार ९०८, भानु नगरपालिका–३ फुस्रेटार, कालीमाटी, भन्सारमा १२२, म्याग्दे गाउँपालिकाको कार्यालयमा २६३, भीमादमा ७९१, ऋषिङका विभिन्न ठाउँमा २७, देवघाटमा ५२ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology