• Saturday 25th of July 2026

नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा


  • गोकर्णेश्वर अनलाइन

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । “नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन”, उहाँले भन्नुभयो, “त्यसैले नेपाल कोभिड –१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।”

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड– १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड– १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।

यसैगरी कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् । विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड –१९ बाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३५४ बिरामीले कोभिड –१९ को कारणले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology