• Saturday 25th of July 2026

लकडाउन जारी रहँदा खोप कार्यक्रमलाई निरन्तरता


  • गोकर्णेश्वर अनलाइन

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनका बीच बालबालिकालाई दिइने नियमित खोप कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रत्येक खोप केन्द्रमार्फत स्वास्थ्यकर्मी परिचालन गरी नेपाल सरकारले लागू गरेका सम्पूर्ण खोपका कार्यक्रमलाई निरन्तरता दिएको हो । कोरोनाको जोखिमका कारण सामाजिक दूरी कायम गरी भीडभाड कम गरेर खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाल सरकारले लागू गरेका सबै खोपका कार्यक्रमलाई निरन्तरता दिएका छौँ आवश्यक सुरक्षा सतर्कता अपनाएर भीडभाड कम हुने गरी काम गरिरहेका छौँ ।”

बालबालिकालाई नियमित दिनुपर्ने खोपका बारेमा आफूहरु संवेदनशील रहेकाले अभिभावकलाई नआत्तिन उहाँले अनुरोध गर्नुभयो । साथै गाउँपालिकाले खोप कार्यक्रमसँगै कोरोना सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । प्रमुख सापकोटाका अनुसार प्रत्येक खोप केन्द्रमा बालबालिकालाई खोप लगाउन आउने अभिभावकलाई कोरोनाबारे सचेतना पनि गराइएको हो । इच्छाकामना भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग भए पनि नियमित खोपबाट बालबालिकालाई छुटाउन नहुने भएकाले यस विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मी निरन्तर खटिरहेको उहाँको भनाइ छ । सरकारले नियमित खोप कार्यक्रमका लागि स्थानीय तहलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology