• Saturday 25th of July 2026

बाँके र रुपन्देहीका दुई जनामा कोरोना संक्रमण


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं ५ का रुपन्देही र बाँकेमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीयमा कोरोना संक्रमण भएको पुष्टि भएको गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्यावस्था सामान्य छ । यही वैशाख ५ गते भारतबाट सुरक्षाकर्मीलाई छलेर अर्को गाउँपालिकाको सीमा नाका हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिका आएका युवकलाई मझगावामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको टोलीले वैशाख १७ गते उनको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । युवकको आज मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमीरेले जानकारी दिनुभयो । “सम्मरीमाइ सिमानाबाट लुकिछिपी आएका उनलाई लिन दाजु गएका रहेछन् । उनलाई पनि क्वारेन्टाइनमा ल्याएर राखिएको छ ।

अन्य परिवारका सदस्यहरुलाई पनि निगरानीमा राखेका छौंँ”, उहाँले भन्नुभयो । कोरोना संक्रमण देखिएपछि युवकलाई आजै दिउँसो बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको डा सुदर्शन थापाले जानकारी दिनुभयो । “अहिले आइसोलेशनमा राखेर उपचार भइरहेको छ , उहाँलाई पहिलेदेखि नै छारे रोगको समस्या रहेको देखिएको छ ”, डा. थापाले भन्नुभयो । यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) मा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी लिनुभयो । उहाँका अनुसार नेपालगञ्जका धार्मिकस्थलमा रहँदै आएका व्यक्तिको स्वाब नमूना जाँचका क्रममा आज रिपोर्ट पोजेटिभ भेटिएको हो । सङ्क्रमित व्यक्तिलाई सुरक्षा र स्वास्थ्य तयारीका साथ खजुरास्थित क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि लगिएको छ ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले कोरोना सङ्क्रमितसँगै रहेका सबैको स्वाब सङ्कलन गरिसकिएको जानकारी दिनुभयो । नेपालगञ्जमा रहेका मस्जिद तथा मन्दिरमा केही दिनदेखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका धार्मिकस्थलमा निगरानी बढाएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस सङ्क्रमित भेटिएपछि उच्च सतर्कता अपनाउने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology