• Saturday 25th of July 2026

सबै परीक्षण नेगेटिभ आएपछि त्रास घट्यो


  • गोकर्णेश्वर अनलाइन

सप्तरीमा आज थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको तीन नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो ।

इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताउनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology