• Saturday 25th of July 2026

डेङ्गु नियन्त्रण गर्न ‘खोजी र नष्ट’ अभियान


  • गोकर्णेश्वर अनलाइन

–तोलाकान्त बगाले वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अर्थात् ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान थालेको छ । सो नगरपालिकामा एकजना डेङ्गुका बिरामी भेटिएसँगै अन्यलाई फैलन नदिन साथै यसको नियन्त्रणका गर्न सो अभियान शुरुआत गरिएको हो । वालिङस्थित विभिन्न सङ्घसंस्था तथा क्लबको सहयोगमा नगरभित्र सो रोग सार्ने माध्यमका रुपमा रहेको लामखुट्टे बढ्न नदिने, यसको वासस्थान रहन सक्ने सम्भावित ठाउँको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । “वालिङमा डेङ्गुका बिरामी भेटिएपछि अरुमा फैलन नदिनका लागि लामखुट्टेको वासस्थान रहने ठाउँ जस्तैः पानी जमेको ठाउँ, गाडीका टायर, गमलाको सरसफाइमा विशेष ध्यान दिएका छौँ”, नगर प्रमुख खाँणले भन्नुभयो, “नगरका विभिन्न ग्यारेज तथा पानी जमेका ठाउँमा कीटनाशक औषधि छरेका छौँ भने सचेतनास्वरुप माइकिङलाई टोल टोलमा पु¥याएका छौँ ।”

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिई सफा राख्न पनि नगरपालिकाले सबैसंँग आग्रह समेत गरेको छ । एकजनामा डेङ्गु रोग देखिए पनि अन्यमा भने अहिलेसम्म नदेखिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिम हुन नदिन अहिले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्कनाका साथै डेङ्गु रोगबारेमा जानकारी दिने उद्देश्यले माइकिङसमेत गरिएको उहाँले बताउनुभयो । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

एक्कासि उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गर्नुभयो ।

‘अनलाइन ’ परीक्षाफल सार्वजनिक

स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आधुनिक प्रविधिलाई पछ्याउँदै ‘अनलाइन सिस्टम’ बाट कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा सञ्चालित आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षाको परीक्षाफल सो प्रविधिको उपयोग गर्दै सार्वजनिक गरेको हो । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विद्यालय सञ्चालन हुन नसकिरहेका बेला नगरपालिकाले ‘अनलाइन सिस्टम’ बाट नतिजा सार्वजनिक गरिदिएसँगै सरोकारवाला विद्यार्थी, विद्यालय वा अभिभावकले घरमै बसेर परीक्षाफल प्राप्त गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिनुभयो । “आधुनिक सूचना प्रविधिसँग जोडिँदै स्मार्ट सिटीका रुपमा अगाडि बढेको नगरपालिकाले ‘अनलाइन सिस्टम’ बाट नतिजा सार्वजनिक गरेर प्रविधितर्फ पहुँच वृद्धि गर्दैछ”,उहाँले भन्नुभयो, “विद्यालयले आफ्ना विद्यार्थीको नतिजा हेर्न र डाउनलोड गरेर लेजर प्रिन्टसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।”

नतिजा हेर्नका लागि वालिङ नगरपालिकाको वेभसाइट धबष्लिनmगल।नयख।लउ मा गई ‘कक्षा ८ नतिजा’ बटनमा क्लिक गरेर आफ्नो विद्यालयको आइडी र पासवर्ड हालेर लेजर हेर्न र प्रिन्ट गर्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । ‘इन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (क्ष्भ्ःक्ष्क्०’ सफ्टवयरको विकास गरी सोहीमार्फत नतिजा सार्वजनिक गरिएको नगरपालिकाका सूचना प्रविधि इञ्जिनीयर प्रकाश अर्यालले बताउनुभयो । नगरपालिकाभित्र रहेका प्रत्येक विद्यालयका कम्प्युटरसम्बन्धी ज्ञान भएका शिक्षकलाई सैद्धान्तिक र प्रयोगात्मक विषयका प्राप्ताङ्क भर्ने, नतिजा हेर्ने तरिकाका बारेमा तीनदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएसँगै नतिजा सार्वजनिक गरिएको इञ्जिनीयर अर्यालले बताउनुभयो । नगरपालिकामा २४ सामुदायिक र १२ संस्थागत गरी कूल ३६ विद्यालयका एक हजार ६ जना छात्रछात्रा कक्षा ८ को परीक्षामा सम्मिलित भएका नगरपालिकाले जनाएको छ । गत फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा कोरोना लकडाउनले रोकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology