• Sunday 26th of July 2026

भारतबाट नेपाल आएका ६५८ जना क्वारेन्टाइनमा


  • गोकर्णेश्वर अनलाइन

भारतबाट आएका ६५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टाइनमा राखिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा मात्र एकसय भन्दा बढी व्यक्तिलाई राखिएको जनाइएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सरकारले नेपाल प्रवेश गर्न रोक लगाए पनि लुकीछिपी प्रवेश गर्नेको सङ्ख्या अत्यधिक बढिरहेको बताउनुभयो । उहाँका अनुसार भारतसँग सीमानाका जोडिएका सप्तरीका विभिन्न नाकाबाट यसअघि आएका ४२२ र विगत दुई दिनको अवधिमा लुकीछिपी भारतबाट आएका २३६ जना गरी कूल ६५८ जनालाई अहिले विभिन्न क्वारेन्टाइनमा राखिएको बताउनुभयो । उनीहरुलाई कोरोनासम्बन्धी जाँचसमेत गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको बलान बिहुल, बोदेबर्साइन, डाक्नेश्वरी, राजगढ, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिकाले भारतबाट नेपाल प्रवेश गर्नेलाई तत्कालका लागि सुरक्षित राख्न अस्थायी क्याम्प निर्माण कार्यलाई अगाडि बढाइएको छ ।”

सप्तरी छिर्नेलाई तत्काल क्वारेन्टाइनमा बस्न लगाई विवरण सङ्कलन गरी सम्वन्धित नगरपालिका तथा गाउँपालिकालाई खबर गर्ने जिम्मा लगाइने स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “उनीहरुमा सङ्क्रमण हुनसक्ने सम्भावना छ, घरपरिवारमा घुलमिल भए परिवारमा समेत सर्न सक्ने खतरा रहेकाले हामी सबै जिम्मेवार भएर त्यस्ता व्यक्तिलाई अविलम्ब क्वारेन्टाइन, अस्पताल वा स्वास्थ्य संस्थाको सम्पर्कमा पठाउन वा आफँै जान आग्रह गरिएको छ ।” यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुर सरकारले नेपाल प्रवेश गर्न रोक लगाएका कारण सोहीअनुसार सुरक्षाकर्मी रोक्ने गरेको प्रतिक्रिया दिनुभयो । लुकीछिपी प्रवेश गर्नेहरुको सुरक्षितरुपमा व्यवस्थापन गर्न आफूहरु गम्भीर रहेको उहाँको भनाइ छ । अलपत्र परेका वा घर फर्किन चाहने व्यक्तिका लागि भारत सरकारले रेल सेवा सञ्चालन गरी गन्तव्यतर्फ पु¥याउने क्रमलाई प्राथमिकताका साथ अगाडि बढाएसँगै घरतर्फ हिँडेका नेपालीलाई सशस्त्र तथा नेपाल प्रहरीको टोलीले रोक्ने गरेका छन् । सीमानाका भएर नेपालतर्फ प्रवेश गर्न नदिएपछि हजारौँ नेपाली सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

सरकारको आदेश आउला र आफूहरु आ–आफ्नो घरतर्फ प्रस्थान गरौँला भन्ने आसमा बसेको एक हप्ताभन्दा बढी हुन लागेको छ । तर सरकारले प्रवेश गर्न नदिएपछि उनीहरु बिचल्लीमा परेका छन् । सप्तरी जिल्लामा ७८ किलोमिटरको खुल्ला सिमानामा एकअर्कालाई देखिने गरी प्रत्येक ३०० मिटरको फरकमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । यद्यपि रातिको समयमा प्रहरीको आँखा छलेर जिल्ला प्रवेश गर्नेको ओइरो नै लागेको छ । एकातर्फ सरकारले आफ्नै देशका नागरिकलाई देश छिर्न रोक लगाएको छ भने अर्कोतर्फ लुकीछिपी आउने क्रम पनि बढ्दै गएकाले कोरोना भाइरसको जोखिमसमेत बढ्दै गएको छ । कोरोना सुरक्षाको नाममा सिमामा उनीहरुलाई रोक लगाउनु तथा अर्कोतर्फ लुकीछिपी प्रवेश गर्दा झन सङ्क्रमणको चुनौती थपिँदैगएको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड–१९ संयोजक डा रणजितकुमार झाले भन्नुभयो ।

१०३ थान पिपिइ सहयोग

सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालद्वारा खडक नगरपालिका र सुरुङ्गा नगरपालिकामा पिपिइ, सर्जिकल ग्लोब्स तथा मास्क वितरण गरिएको छ । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको सवल नेपालका अधिकृत राधेश्याम रामले जानकारी गराउनुभयो । सुरुङ्गा नगरपालिकालाई ५३ सेट पिपिइ, सर्जिकल पञ्जा १०० जोर तथा मास्क ३३ जोर र खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोर सर्जिकल पञ्जा र ३० थान मास्क वितरण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology