• Sunday 26th of July 2026

कोरोना सङ्क्रमितलाई निःशुल्क पौष्टिक खाना


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ १४ गतेदेखि पोषिलो खाना तथा खाजा खुवाउन शुरू गरेको हो । जनकपुरमा ३१ जना बिरामीलाई खाना तथा खाजा खुवाउने गरिएको छ । प्रदेश सरकारको आग्रहमा सानो पाइलाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र सरकारको कार्यविधिअनुसार धनुषामा पौष्टिक खाना खुवाउँदै आएको छ । “विविध कारणले गर्दा धनुषामा कोभिड–१९ का बिरामी र क्वारिन्टनमा बसेका व्यक्तिलाई पौष्टिक खाना खुवाउन समस्या भएकाले सानो पाइलाले यो अभियान अघि सारेको छ”, सानो पाइलाका क्षेत्रीय प्रमुख अधिवक्ता राहुलकुमार झाले भन्नुभयो, “यो अभियानलाई जनकपुरवासी र प्रदेश सरकारको साझा अभियानका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ ।”

यसका लागि समुदाय र सरकार दुवैको सहयोग लिइने उहाँको भनाइ छ । यसअघि सानो पाइलाले समुदायको सहयोगमा पर्सामा उपचाररत कोभिड–१९ का बिरामीलाई जेठ ५ गते बाट नियमित चार समय पौष्टिक खाना उपलब्ध गराउँदै आएको छ । साप्ताहिकरुपमा समुदायको सहयोग र पौष्टिक खानामा भएको खर्च सार्वजनिक गर्दै आएको सानो पाइलाले हालसम्म सरकारी सहयोग नलिएको जनाएको छ । “सरकारी संयन्त्रलाई महामारीमा सघाउनु सबैको कर्तव्य हो”, सानो पाइलाका सभापति सुदीपकुमार लामाले भन्नुभयो, “हामीले समुदायको सहयोग समुदायसम्म पु¥याउन साँघुको काम गरिरहेका छौँ ।” उहाँले यस कार्यका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए पनि अहिलेसम्म यस विषयमा संस्थाले ठोस निर्णय लिएको छैन भन्नुभयो ।

“यस्ता निर्णय संस्थाको गभर्निङ बोर्डले गर्ने हो”, सभापति लामाले भन्नुभयो, “प्रदेश सरकारको आग्रहमा हामीले धनुषामा शुरुवात गर्न लागेका हौँ । प्रदेश सरकारले हामीलाई आर्थिक सहयोग गर्ने निर्णयको विषयमा दुवै पक्षका प्राविधिक समूह आपसी छलफलमा छौँ । यसको औपचारिक शुरुवात भएसँगै त्यसका विषयमा पनि आवश्यक जानकारी गराउने छौँ ।” बिहानको खाजामा अण्डा, रोटी, हरियो तरकारी, चिया, दूध, फलफूल तथा साँझको खाजामा फलफूल, निम्बु पानीको सर्बत, चिया, दूधको साप्ताहिक मेनु नै बनाइएको छ । दिउँसोको खानामा भात, दाल, मौसमी तरकारी तथा साग सलाद र रातिको खानामा दिनमा दिने गरिएको खानामा सप्ताहमा दुई दिन कुखुराको मासुसमेत दिने गरेको उहाँले बताउनुभयो । प्रतिदिन एकजनालाई चारपटक भोेजन गराउँदा दैनिक रु ३२७ खर्च हुने गरेको उहाँको भनाइ छ । राष्ट्र निर्माणका लागि समुदायको निर्माण भन्ने नारासहित सन् २००६ मा स्थापना भएको संस्थाले मुख्यरुपमा लागुऔषधमा संलग्न व्यक्तिलाई सुधारे असल काममा लगाउने काम गर्ने गरेको उहाँले बताउनुभयो । “दलदलमा फसेका त्यस्ता युवा जसका आमाबुवाले समेत नालायक भनेर तिरस्कार गरे, आज ती युवा नै फिडिङ अभियानसहित विभिन्न असल काममा लागेका छन्”, झाले भन्नुभयो ।

यो पनि हेर्नुहोस :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology