• Saturday 25th of July 2026

सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ–सांसद


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसद्ले कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गर्नुभएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले बजेट परम्परागत भएको पिप्पणी गर्दै भन्नुभयो,“देशको अर्थतन्त्र नाजुक भएको अवस्थामा कम्तीमा उद्योग र व्यापारका लागि सरकारले सहुलियत दिनुपर्ने थियो तर दिएको छैन । गरीब किसानका लागि बीउ, मल अभाव छ, त्यसमा सरकारको ध्यान जान सकेको छैन, गरीबलाई उत्थान गर्ने सरकारको के योजना छ, त्यो स्पष्ट आउन सकेन ।” बजेट सबै हिसाबले समानुपातिक नभएको बताउँदै उहाँले माछा र कुखुरामा अहिले ठूलो लगानी भए पनि उचित बजारको व्यवस्था नभएको बताउनुभयो । राष्ट्रिय जनता पार्टीकै रानी मण्डलले कोभिड–१९ नियन्त्रणका लागि पर्याप्त मात्रामा क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गर्न माग गर्नुभयो ।

राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री रोगजार कार्यक्रमबाट लक्षित समुदायले लाभ लिन सकेका छैनन् भन्नुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्य क्षेत्रमा प्राप्त बजेटको व्यवस्था भए पनि त्यो लक्षित ठाउँमा पुग्न सकेको छैन, जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेको छैन, त्यसैले सरकारले बजेटमा मात्रै व्यवस्था गर्नेभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्छ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का देवेन्द्र पौडेलले मुलुक कोभिड–१९ बाट आक्रान्त बनेका अवस्थामा अस्पतालमा काम गर्ने चिकित्सकको मनोबल बढाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने प्रकृतिका कार्यक्रमलाई बजेटमा समावेश गर्न नसकिएको टिप्पणी गर्नुभयो । उहाँले कोभिड–१९ को परीक्षण पिसिआर प्रविधिबाट गर्न आग्रह गर्नुभयो । सङ्घीय समाजवादी पार्टीका रामसहायप्रसाद यादवले बजेट हेर्दा सरकार कोरोना नियन्त्रणमा गम्भीर नदेखिएको बताउनुभयो । सोही दलका विमलप्रसाद श्रीवास्तवले उखु किसानका समस्या समाधान गर्नेतर्फ बजेटले ध्यान नसकेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology