• Monday 27th of July 2026

‘कोरोना परीक्षणको दायरा बढेन’


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कोभिड–१९ को रोकथाम र निगरानीमा थप प्रभावकारी पहल गर्न सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दीर्घबहादुर सोडारीले मिर्गौलाको उपचारका क्रममा रहेका धनगढीका एक बिरामीको मृत्युपछि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको घटनाले गम्भीर अवस्था देखिएको भन्दै कोरोनाको न्यूनीकरणका लागि द्रुतगतिमा काम गर्न ध्यानाकर्षण गराउनुभयो । नेपाली काँग्रेसका भारतबहादुर खड्काले डोटी र बैतडी जिल्लामा पनि प्रयोगशाला सञ्चालनमा ल्याइ कोभिड–१९का शङ्कास्पद व्यक्तिको स्वास्थ्य जाँचको दायरलाई तीव्र बनाउन र क्वारेन्टिनमा बसेकाको उचित व्यवस्थापन गर्न माग गर्नुभयो । नेकपाका पूर्णा जोशीले डोटीको केआइसिंह गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको भन्दै उचित व्यवस्थापन हुन नसकेकै कारण क्वारेन्टिन कोरोनाको सङ्क्रमण हुने घर बन्न लागेको खतरा देखिएकाले रोकथामका लागि समयमै ध्यान दिनु माग गर्नुभयो ।

बैठकले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । समाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सभामा सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सामाजिक समितिमा दफावार छलफल भई तयार परिएको प्रतिवेदनसहितको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य श्यामलाल राना थारू, कृणबहादुर चौधरी र मानबहादुर साउदले भाग लिनुभएको थियो । उक्त विधेयक पारित भएसँगै प्रदेशमा भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology