• Monday 27th of July 2026

गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । हालसम्म ती जिल्लामा डेङ्गुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ । गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइन्छ । निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाले सो क्षेत्रलाई डेङ्गु रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणका गतिविधि शुरु गरिएको छ । कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेङ्गु सङ्क्रमण फैलन नदिनका लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम शुरु गरिएको निर्देशनालयले जनाएको छ । डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् । डेङ्गुको उपचारसमेत हालसम्म पत्ता लाग्न सकेको छैन । त्यसैगरी स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकाले यसबाट जोगिन घर बाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology