• Monday 27th of July 2026

ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने


  • गोकर्णेश्वर अनलाइन

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताउनुभयो । एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उहाँले उल्लेख गर्नुभयो । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उहाँले भन्नुभयो, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सो मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताउनुभयो । उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क रु ५० लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology