धवलागिरि अस्पताललाई २०० श्ययाको जनरल अस्पतालमा स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आव २०७७/७८ को बजेट वक्तव्यका क्रममा सोको जानकारी गराउनुभएको हो । सोमबार सार्वजनिक बजेटमा ‘नेपाल सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० श्यया र धवलागिरि अस्पताललाई २०० श्ययाको जनरल अस्पतालमा स्तरोन्नति गरिने’ उल्लेख छ । यसअघि भएको छलफलमा सामाजिक विकास मन्त्रालयले उक्त विषय बजेटमै समावेश हुनेमा अस्पताल व्यवस्थापनलाई आश्वस्त पारेको थियो । हाल अस्पतालमा ६५ श्यया छन् । १० विशेषज्ञ र १२ मेडिकल अधिकृत सेवारत छन् । जनरल अस्पताल घोषणापछि पूर्वाधार, जनशक्ति र सेवाको स्तरले फड्को मार्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो ।
“२०० श्यया पु-याउँदा सोहीअनुसार भौतिक संरचना, जनशक्ति चाहिन्छ”, उहाँले भन्नुभयो । जनरल अस्पतालका लागि चाहिने मापदण्ड सरकारले निर्धारण गरेपछि काम अगाडि बढ्ने अध्यक्ष रानामगरको भनाइ छ । “सिटीस्क्यानजस्ता अत्याधुनिक उपकरण, उच्चस्तरको प्रयोगशालालगायत दक्ष मानवसाधनको खाँचो छ”, उहाँले भन्नुभयो, “धवलागिरिवासीको माग सम्बोधन भएको छ, कार्यान्वयनमा ढिलाइ नहोस् ।” नीति, कार्यक्रमसहित बजेटमै आएकाले अस्पताल स्तरवृद्धिको काम शीघ्र शुरु हुने विश्वास बागलुङ–१ (क) का प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको छ । “उपप्रादेशिक तहकै अस्पतालका रुपमा विकास गर्ने सरकारको सोच छ”, उहाँले भन्नुभयो । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि स्तरोन्नति गर्ने योजना बजेटमा आएको प्रदेशसभा सदस्य सापकोटाले बताउनुभयो । “बुर्तिवाङमा जिल्लास्तरको अस्पताल बनाउन पहिलेदेखि नै प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “आउँदो आवमा झण्डै रु ५० लाख बजेट त्यहाँ जाँदैछ ।”
उहाँले पछिल्लो दुई वर्षमा धवलागिरि अस्पताल सुधारका लागि प्रदेश सरकारबाट झण्डै रु छ करोड बजेट आएको उल्लेख गर्नुभयो । सङ्घ र प्रदेश सरकारको सहयोगमा हालै मात्र अस्पतालमा सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले तीन श्ययाको आइसीयूकक्ष तयार भएको जानकारी दिनुभयो । उहाँले आइसीयू सञ्चालनका लागि दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको भने अभाव रहेको उल्लेख गर्नुभयो । “यसै त हामीकहाँ दरबन्दीअनुसार मानवसाधनको कमी छ, आइसीयूका लागि विशेषज्ञसहितको चिकित्सक टोली आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “प्रदेशको सामाजिक विकास मन्त्रालयमा त्यसको माग गरेका छौँ ।” पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रूपमा लिने गरिन्छ ।
अस्पताललाई स्रोत, साधनयुक्त बनाउन मन्त्रालयसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको प्रदेशसभा सदस्य सापकोटाले बताउनुभयो । सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताललाई तोकेपछि तत्कालै सेवा, सुविधा थप गर्न तत्परता देखिएको हो । अहिले अस्पतालको आइसोलेसन कक्षमा ११ कोरोना सङ्क्रमित उपचाररत छन् । यसअघि आठ सङ्क्रमितले अस्पतालबाट स्वास्थ्यलाभ लिइ घर फर्किसकेका छन् । गत चैतमा भेटिएका देशकै पाँचाँै र छैटौँ सङ्क्रमितको उपचार पनि सोही अस्पतालमा भएको थियो ।
