• Monday 27th of July 2026

कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा


  • गोकर्णेश्वर अनलाइन

कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले रु एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो । “कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गाैलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सञ्चालनमा ल्याएका हौँ ।”

यही असार १४ गतेदेखि अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा शुरु गरिएको कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा पेरु प्रधानले बताउनुभयो । “नगरपालिकाको सहयोगमा सेवा शुरु गरेका हौँ, आइतबार र सोमबार दुई दिन सेवा प्रवाह ग¥यौँ, आजका लागि कोही आउनुभएको छैन”, उहाँले भन्नुभयो, “शुरुआती चरण भएकाले धेरैलाई थाहा नहुन सक्छ तर पनि हामीकहाँ १३ जनाले नाम टिपाइसक्नुभएको छ ।” उहाँका अुनसार अस्पतालले डायलाइसिस सेवाका लागि ११ कर्मचारी छुट्याएको छ । यसअघि नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स खरीद गरिसकेको छ । नगरवासीलाई सहज रुपमा सेवा प्रवाहका लागि रु ४८ लाख १५ हजार लागतमा नगरपालिकाले एम्बुलेन्स खरीद गरेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

यसैगरी नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेसिन प्रयोग गरी प्रयोगशाला सञ्चालनको तयारी गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर नगरपालिकाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण खरीद गरिसकेको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत सामान खरीद गरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology