• Saturday 25th of July 2026

नेकपा स्थायी कमिटी बैठक प्रभावित


  • गोकर्णेश्वर अनलाइन

शीर्ष तहका नेताबीचको विवादका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजका लागि तोकिएको बैठक प्रभावित भएको छ । स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । आज बिहान ११ बजेका लागि तोकिएको स्थायी कमिटी बैठकअघि सचिवालय बैठक चलेकाले स्थायी कमिटी बैठक बस्ने÷नबस्ने अन्योलमा आफूहरु परेको स्थायी कमिटीका सदस्य नन्दकुमार प्रसाईँले बताउनुभयो ।

सरकारको सिफारिसमा आजै राष्ट्रपतिले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकलगत्तै परामर्शका लागि शीतल निवास पुग्नुभएको थियो । अध्यक्ष दाहाल त्यहाँबाट फर्केपछि थप छलफल हुने जनाइएको छ । स्थायी कमिटीका अर्का सदस्य केशवप्रसाद बडालले दुई अध्यक्ष आपसमा बसेर सहमतिमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र दुर्घटनामा लान नहुने बताउनुभयो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राख्नुभएका सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको तथा दुई दिनअघि निर्वाचन आयोगमा एमाले दल दर्ताका लागि आवेदन परेका सम्बन्धमा स्थायी कमिटीमा छलफल हुँदा पूर्वनिर्धारित कार्यसूची प्रभावित हुँदै आएका थिए ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसीलगायत कार्यसूची राखिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology