• Monday 27th of July 2026

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ । दार्चुला, कैलाली, डोटी, बाजुरा, डडेलधुरा, बैतडी, कञ्चनपुर, अछाम बझाङ सङ्क्रमणको दरमा बढ्दै गएको छ । हालसम्म कैलाली जिल्लामा सबैभन्दा बढी ९१६ सङ्क्रमित पुगेका छन् । यसैगरी कञ्चनपुरमा ४००, डोटीमा ५१४, डडेलधुरामा २५९, दार्चुलामा १७, बैतडीमा २८०, बझाङ १३९, बाजुरा ३९० र अछाम ५५४ सङ्क्रमित पुगेका छन् । देशभरमै सबैभन्दा बढी कोरोन सङ्क्रमित जिल्लाका रुपमा सम्भवतः कैलाली जिल्ला पहिलो जिल्लाका रुपमा देखिएको छ । कोभिड–१९ का कारण यस प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ ।

गतहप्ता पिसिआर पद्धतिबाट प्रदेशमा १६ हजार ९३५ जनाको नमूना परीक्षण भएकामा शनिबार यो सङ्ख्या २२ हजार १४७ पुगेको छ । हालसम्म ५८६ जना उपचारपछि घर फर्किएका छन् । बन्दाबन्दी खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । प्रदेशमा अधिक सङ्ख्यामा २० देखि २९ वर्ष उमेर समूहका युवा कोरोनाबाट सङ्क्रमित भइरहेको देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको पछिल्लो तथ्याङ्कका अनुसार हालसम्म पिसिआर पद्धतिबाट स्वाब सङ्कलन गरी नमूना जाँच गरिएका मध्ये २० देखि २९ वर्ष उमेरका एक हजार ५३७ जनामा कोराना सङ्क्रमण भएको छ ।

यसैगरी ३० देखि ३९ वर्ष उमेरका ७२७, दशदेखि १९ वर्ष उमेरका ४४५, चालीसदेखि ४९ वर्ष उमेरका २९०, नौ वर्ष सम्मका बालबालिका २७२, पचासदेखि ५९ उमेरका १३२, साठीदेखि ६९ वर्षका ५१, सत्तरीदेखि ७९ वर्षका १४ र नब्बेदेखि ९९ वर्षका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले १४ दिन आइसोलेशनको बसाइ पूरा गरेर नजिता नेगेटिभ आएको र पछिल्लो तीन दिनमा कुनै लक्षण नदेखिएको व्यक्तिलाई डिस्चार्ज गर्ने गरिएको बताउनुभयो । क्वारेन्टिनमा बसेको व्यक्तिको हकमा १४ दिनको बसाइ पूरा गरी नतिजा जे सुकै आए पनि थप सात दिन सुरक्षित तरिकाले घरमा बस्ने गरी होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गर्ने गरिएको जनाइएको छ । यसैबीच स्वास्थ्य तालीम केन्द्र धनगढीमा कोभिड–१९ को सिआइसिटी सेन्टर (बिरामीको खोज पड्ताल तथा सर्वेक्षण केन्द्र) स्थापना गर्न लागिएको छ । यो केन्द्रले स्वास्थ्य संस्था लगायतसँग कोभिड–१९ को रोकथामका लागि आवश्यक काममा समन्वय गर्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology