गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका छन् । घर पछाडिबाट आएको पहिराले गए राति १२ : ३० बजे भित्ता नै भत्काउँदा भलसहितको पानीले तल्लो तलामा राखिएका सामान बगाएको छ ।
पानी परेपछि पहिराबाट क्षति रोक्न विभिन्न नियन्त्रणका उपाय अपनाउँदा पनि नसकिएको स्थानीयवासी दानस मल्लले बताउनुभयो । पहिरो पीडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनका भवनमा राखिएको छ । यहाँका बालकुमारी मल्ल, दानस मल्ल र सूर्य श्रेष्ठको घर पनि पहिराको जोखिममा छन् । पहिरोपीडितलाई वडाबाट आफूले सहयोगका लागि पहल गर्ने वडाध्यक्ष मित्रलाल कँडेलले बताउनुभयो ।
