• Monday 27th of July 2026

प्रदेश सरकारको लगानीमा सर्पदंश उपचार केन्द्र निर्माण


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र निर्माण हुन थालेको छ । यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीका सर्पदंशका बिरामीलाई मध्यनजर गरी उक्त अस्पताल निर्माण गरिन लागेको हो । दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सामाजिक विकास मन्त्रालयले रु २१ लाख बजेट विनियोजन गरी अस्पताल निर्माण गरिने नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका सात पहाडी जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरिन लागिएको हो । दुई कोठे सुविधा सम्पन्न उक्त उपचार केन्द्र क्षेत्रीय प्रहरी अस्पताल दिपायलको मातहतमा रहने गरी निर्माण शुरु गरिएको अस्पतालका निमित्त प्रमुख तथा डा बबिता गजमेरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्पदंश उपचार केन्द्र नभएर बर्सेनि यहाँका पहाडी जिल्लामा दजनौँ स्थानीयको अकालमै ज्यान जाने गरेको थियो, अब उपचार केन्द्र बनेपछि उपचार र सेवामा सहज हुने भएको छ ।” अस्पतालमा निर्माण भइरहेको उक्त उपचार केन्द्र निर्माण कार्य तीव्र गतिमा शुरु गरिएको उपचार केन्द्र निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी देवेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाको समय भए पनि हामीले निर्माण कार्य तीव्ररुपमा शुरु गरेका छौँ, तोकिएकै समयमा काम सम्पन्न हुनेछ ।” डोटीसहित यहाँका अन्य पहाडी जिललामा विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि दिपायल सिलगढी नगरपालिकाको पहलमा सामाजिक विकास मन्त्रालयले दिपायलमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डोटीसहित यहाँका पहाडी जिल्लामा बर्सेनि सर्पदंशबाट स्थानीयवासीको अकालमै ज्यान जान थालेपछि नगरपालिकाको पहलमा उचार केन्द्र निर्माण गरिन लागेको हो, सर्पदंशबाट ज्यान जाने अवस्था रोकिने छ ।” निर्माण कार्य सम्पन्न भएपछि लगत्तै सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सरकारबाट सर्पदंशका बिरामीको उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्रीका लागि पहल भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ जनाको मृत्यू भएको थियो । सर्पले डसेका बिरामीलाई समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिममा सरकारीस्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनी अड्डाअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा रहेको देवी दल गणले विसं २०७३ देखि आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र खोलेर सञ्चालनमा ल्याएको छ तर यहाँका अन्य सात पहाडी जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकालमा ज्यान जाने गरेको थियो । यहाँका पहाडी जिल्लामा गर्मीयाम तथा वर्षायाममा सर्पको बिगबिगी हुने गरेको छ । यहाँका पहाडी भेगमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको पाइएको चिकित्सक बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology