• Saturday 25th of July 2026

समुदायस्तरमा सङ्क्रमण फैलन नदिने महानगरपालिकाको तयारी


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो । अहिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितमध्ये २०७७ साउन १४ गते बेलुका मोरङकै एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिनुभयो

यहाँ सङ्क्रमित भएकाभन्दा उपचार गरेर घर फर्कनेको अनुपात निकै सन्तोषजनक रहेकै कारण प्रदेश १ मा शनिबारसम्ममा ७८९ जना निको भएर घर फर्किएका छन् । तथापि कोरोनाको भय र त्रास अझै मानिसमा कायम नै छ । यसलाई नियन्त्रण, रोकथाम र उपचारका लागि नेपाल सरकारले गएको चैत ११ गतेबाट शुरु गरेको बन्दाबन्दी साउनमा हटाइएको छ भने यसलाई स्थानीय तहले निरन्तरता दिने भएका छन् । समुदायमा फैलिए नियन्त्रण गर्न समस्या हुने र स्थिति भयावह बन्ने भएकाले नै स्थानीय तहले बन्दाबन्दी नभनी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल पनि गरेका छन् । समुदायस्तरमै कोरोना सङ्क्रमणको जोखिम बढेसँगै विराटनगर महानगरले थप तदारुकता देखाएसँगै नगरक्षेत्रमा रहेका सबै संयन्त्रको परिचालनमा महानगर जुटेको छ ।

बिहीबार विराटनगरमा रहेका सबै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकसँग महानगरले सुझाव लिनुका साथै थप नयाँ रणनीति तय गरेको छ । कोरोना सङ्क्रमण समुदायसम्म नपुगोस् भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापकसहितको बैठक उपलब्धिमूलक भएको प्रमुख पराजुलीको भनाइ छ । यससँगै कोरोना सङ्क्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकको समन्वयमा उच्च स्तरीय चारवटा समितिसमेत बनाएको छ ।

जसअन्तर्गत डा हेमसागर रिमालको संयोजकत्वमा होमक्वारेन्टिन समिति, डा सुशील तपडियाको संयोजकत्वमा पिसिआर ल्याब स्थापना समिति, अर्चाना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति र डा सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङ समिति बनाएको छ । समितिमा रहेका पदाधिकारी तथा सदस्यले कोरोना सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । यस्तै बैठकले विराटनगरका सबै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई कोरोना सङ्क्रमण भए आ आफ्ना अस्पतालमै व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । दीर्घकालीन योजनाका साथ अघि बढिरहेको विराटनगर महानगरपालिकाले कोरोनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास एवम् पहल गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology