• Monday 27th of July 2026

वाग्मतीले पाँच अस्पताललाई स्वास्थ्य उपकरण वितरण गर्दै


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेश सरकारले प्रदेशका पाँच अस्पताललाई भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण वितरण गर्ने भएको छ । कोभिड नियन्त्रणका लागि तिब्बत सरकारबाट प्राप्त उपकरण आवश्यकताका आधारमा विभिन्न अस्पताललाई वितरण गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये विभिन्न प्रकारका ७५ थान उपकरण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललाई, ४२ थान भक्तपुर अस्पताललाई, ३५ थान धादिङ अस्पताललाई, ३१ थान नुवाकोटको त्रिशूली अस्पताललाई र २७ थान सिन्धुली अस्पताललाई वितरण गर्न लागिएको जनाइएको छ ।

प्रदेश सरकारले चार थान प्यासेन्ट मोनिटर भने गण्डकी प्रदेश सरकारलाई वितरण गर्ने जनाइएको छ । पन्ध्र थान विभिन्न प्रकारका उपकरण तथा पिपिइ, मास्क, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स, डिस्पोजेबल गोफेन्ट क्याप, मेडिकल आइसोलेन बुट, सु कभर भने आवश्यकतानुसार वितरण गर्नेगरी राखिने जनाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयको पहलमा तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री केही दिनअघि वाग्मती प्रदेशलाई सहयोग गरेको थियो ।

प्रदेश सरकारलाई भेन्टिलेटर १६ थान, कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, इलेक्ट्रो कार्डियोग्राफ तीन थान, प्यासेन्ट मोनिटर ६० थान, कलर डप्लर अल्ट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्यास एनलाइजर १० थान, डेफिग्रीलेटर मोबाइल १० थान, अक्सिमिटर पल्स २० थान, आइसियु बेड ५० थान, पिपिइ एक हजार थान, एन ९५ मास्क दुई हजार थान, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोब्स दुई हजार थान, डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार थान, मेडिकल आइसोलेन बुट, सु कभर दुई हजार थान सहयोग प्राप्त भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology