काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । मृतक तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो ।
