• Monday 27th of July 2026

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन तथा उनीप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न सबैलाई आग्रह गरिएको छ ।

“कानुनको दायराभन्दामाथि गई गरिने यस प्रकारका घटनाको छानबिन गरी दोषीउपर कानूनी कारवाही गर्नसमेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।” चितवनलगायत देशका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि छिमेकी तथा टोलबासीबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटना भइरहेको छ । आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवस्थामा अनुगमन गरिरहेको छ ।

सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सङ्क्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेरा हाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको आयोगले जनाएको छ । जनस्वास्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवाप्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology