• Monday 27th of July 2026

स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताउनुभयो । “यहाँ अस्पतालमा उपचार गरिएका ६० वर्षीय एक कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो” मेसु मरासिनीले भन्नुभयो, “कन्ट्याक ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पिसिआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।”

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी गत मङ्गलबारबाट बन्द गरिएको सेवा अस्पतालको निर्मलीकरणपछि सञ्चालन गरिएको मेसु मरासिनीले बताउनुभयो । कारागारमा बस्दै आएका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन सञ्चालक, सुरक्षाकर्मी, फार्मेसीलगायतको कन्ट्याक ट्रेसिङ गरी ७१ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology