• Saturday 25th of July 2026

चट्याङले भेडा मर्दा रु.२६ लाखको क्षति


  • गोकर्णेश्वर अनलाइन

जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा रु. २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

“पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर शाह र पशु तथा भेटेनरी शाखा प्राविधिक हरि कामी नेतृत्वमा मङ्गलबार ढाँणखर्क पुगेर ल्याएको विवरण अनुसार ११ जना भेडापालक किसानका २१७ भेडा मरेका छन्”, उहाँले भन्नुभयो, “थप मूल्याङ्कन पनि हुँदैछ ।” भेटनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने जानकारी दिनुभयो । गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका—६ सूँडी गाउँका २५० भेडा मरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology